राजविराज । चुनावमा दलित बस्ती एक बोतल दारु, एक चोक्टा मासु र दुई पैसामा खरिदबिक्री हुने आरोप लागेपछि सप्तरी क्षेत्र नम्बर ४(क) मा दलित युवाहरूले यसका विरुद्ध प्रतिकार समिति गठन गरेको छ ।
राजेश विद्रोहीको नेतृत्वमा रहेको राष्ट्रिय दलित मुक्ति जागरण अभियानका युवा संगठन दलित मुक्ति सेनाका युवाहरूले हरेक दलित वस्तीमा दलित युवाहरूको संजालले आइतबारदेखि गोप्य रुपमा निगरानी गर्नेछ । यसका लागि क्षेत्रभरी एकसय युवा सिभिलमा परिचालन हुनेछ । दलित मुक्तिका लागि एक भोट दलितलाई पानीको धारा छापामा प्रदेश सभाका स्वतन्त्र युवा उमेदवार राजेश विद्रोहीलाई खसाउनुपर्नेछ ।
निर्वाचन क्षेत्र नम्बर ४(क) मा खडक नगरपालिकाका ११ वडा र सुरुंगा नगरपालिकाका ८ वडा गरी जम्मा १९ वडा र सयभन्दा बढी वस्तीहरु रहेका छन् । यो क्षेत्रमा थारु, दलित,ओविसी,पहाडी सहित बसोबास रहेको मिश्रित बाहुल्य क्षेत्र हो । हरेक वस्तीमा दलित समुदायको घना बसोबास रहेको छ । शनिबार खडक र सुरुंगाका १९ वटै वडामा रहेका हरेक दलित वस्तीबाट १०/१० जना नमुना युवाहरूको उपस्थितिमा प्रतिकार समिति गठन गरिएको छ ।
१९ वडामा १९ जना कमान्डर तोकिएको छ । उनीहरुलाई परिचालन गर्न नगरस्तरमा ५/५ जनाएको छुट्टै टिम छ । उनीहरुको काम दलित वस्तीलाई खरिदबिक्री गर्न आउनेहरुलाई पक्राउ गरी निर्वाचन कार्यालय र प्रहरीसँग समन्वय गरेर कानुनी कार्वाहीको लागि बुझाउने छ । दलित वस्तीमा प्रचारप्रसार भने गर्न दिनेछ । विभिन्न पार्टीमा लागेका दलित कार्यकर्ताहरुको माध्यमबाट दलित वस्ती रातारात खरिदबिक्री गर्ने हुँदा यसपटक ति युवा दस्ताले उनीहरुलाई समेत कडा निगरानीमा राख्ने श्यामसुन्दर रामले बताए ।
नगरस्तरबाट परिचालित प्रमुख टिममा श्यामकुमार राम, अर्जुन मंडल, हरि पासवान, रामकुमार सदा, श्यामसुन्दर राम, लक्ष्मी विश्वकर्मा, सकलदेव मंडल, शम्भु सदा, जुगेश्वर पासवान, महेश सदा, राजु मंडल,मिथलेश राम, सत्यनारायण राम, अमर पासवान, राजेश मंडल, प्रमोद राम, राजु विश्वकर्मा, रुपेश सदा, मुक्ति पासवान, मुकेश मंडल, श्रवण मंडल,आयुष भुजेल लगायतका छन् ।







