महेश सिंह सिरहा-लहान नगरपालिकामा सञ्चालन हुने निजी विद्यालयस्तरीय दोस्रो सिजन ‘प्याब्सन सिरहा कप’ क्रिकेट प्रतियोगितामा २८ वटा निजी विद्यालयको सहभागिता रहने भएको छ। आयोजक समितिका अनुसार प्रतियोगिता मंसिर २० गतेदेखि पुस १६ गतेसम्म लहान–४ स्थित एसटिडिएम मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताको सम्पूर्ण समन्वय लहान क्रिकेट क्लबद्वारा गरिएको हो भने आर्थिक सहयोग तथा मुख्य स्पोन्सर प्याब्सन सिरहा रहेकाे छ। प्रतियोगिताका संयोजक उमेश कुमार यादवले विद्यालयबीचको खेलकुद क्षमताको विकास, अनुशासन, टीमवर्क र खेल भावनाको वृद्धि उद्देश्य राखिएको बताए।
प्याब्सन सिरहाको अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सम्पन्न ड्र — गोला (गोला प्रथा) कार्यक्रममा प्रतिस्पर्धी टोलीहरूको समुह विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको थियो। उनले खेलाडीहरूलाई मर्यादित, व्यवस्थित र अनुशासित ढङ्गले खेल सञ्चालन गर्न आग्रह गर्दै खेलकुदले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
आयोजकले प्रतियोगिताबाट स्थानीय स्तरमा प्रतिभावान खेलाडीको पहिचान, निजी विद्यालयबीच सहयोगात्मक सम्बन्ध विस्तार तथा खेलकुद संस्कृति मजबुत हुने अपेक्षा राखेको छ। खेल प्रतियोगिता अविरल रूपमा, पारदर्शी नियमअनुसार र निष्पक्ष रूपमा सञ्चालन हुने आयोजकको भनाइ छ।
कार्यक्रममा नगरका विभिन्न विद्यालयका प्रतिनिधि, प्रशिक्षक, खेलप्रेमी अभिभावक तथा स्थानीय सरोकावालाहरु उपस्थित थिए। प्रतियोगिता तय मितिमा भव्य रूपमा सञ्चालन गर्ने तयारी तीव्र भएको आयोजक समितिले जनाएको छ।







