महेश सिंह, लहान–सिरहा -नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिरहाका समाजसेवी अरुण केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीको अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गर्ने कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
सिरहा जिल्लामा ‘मानव एम्बुलेन्स’ का रूपमा परिचित केसी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनले ‘अल अराउन्ड द वल्र्ड’ संस्थामार्फत जनताको सेवामा समर्पित हुँदै आएका छन्।
केसीले अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायसहित विभिन्न समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको जनाइएको छ। स्थानीयस्तरमा दुःख–पीडामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै सामाजिक सेवामा निरन्तर सक्रिय रहेकाले उनलाई समाजसेवीका रूपमा चिनिँदै आएको छ।
उम्मेदवारी घोषणा गर्दै केसीले कांग्रेसको बदलिँदो परिस्थितिमा पार्टीलाई थप समावेशी, जनमुखी र प्रभावकारी बनाउन आफूले योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अपाङ्गता भएका व्यक्तिको आवाज पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
उनका समर्थकहरूले सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आएका केसीलाई महाधिवेशन प्रतिनिधिहरूले मत दिएर विजयी गराउने विश्वास व्यक्त गरेका छन्। साथै, सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सहयोग र समर्थनका लागि अपिल गरिएको छ।








