महेश सिंह लहान सिरहा- सखुवानन्कारकट्टी गाउँपालिकाका पशु सेवा प्रमुख राम अधीन यादवलाई सेवाबाट निवृत्त भएको अवसरमा गाउँपालिकाका कर्मचारीहरूले भावपूर्ण बिदाइ गरेका छन्।
गाउँपालिकामा लामो समय सेवा गरेका यादवको योगदानको कदर गर्दै आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरूले उहाँको आगामी जीवन सुख, समृद्धि, दीर्घायु तथा सुस्वास्थ्यको कामना गरेका थिए।
बिदाइ कार्यक्रममा कर्मचारीहरूले यादवलाई पालिकाको एक असल, जिम्मेवार र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा स्मरण गर्दै उहाँको सेवानिवृत्तिले गाउँपालिका परिवारलाई नै भावुक बनाएको बताएका थिए। सेवामा रहँदा यादवले पशु सेवा क्षेत्रको विकास तथा स्थानीय किसानलाई आवश्यक सेवा प्रवाहमा पुर्याएको योगदानको पनि प्रशंसा गरिएको थियो।
कर्मचारीहरूले सरकारी सेवाबाट औपचारिक रूपमा अलग भए पनि यादवले पालिकाको विकास र सामाजिक क्षेत्रमा पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए।
कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरूले यादवलाई मायाको चिनो तथा शुभकामनासहित बिदाइ गर्दै आगामी जीवन सुखमय र स्वस्थ रहोस् भन्ने कामना गरेका थिए।









