महेश सिंह लहान सिरहा – भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिरहाको बरियारपट्टी गाउँपालिका–स्थित नर्गी चौकमा बृहत् दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
विश्व हिन्दु परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहाको आयोजनामा भएको कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो। साथै शोकाकुल परिवारजनमा दुःख सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामनासमेत गरिएको थियो।
कार्यक्रम विश्व हिन्दु परिषद् नेपाल सिरहा जिल्ला कार्यसमितिका अध्यक्ष शिवदेव साहको अध्यक्षता तथा नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा परिषद्का ज्ञानेन्द्र विक्रम यादव, पवन यादव, शिवराम यादव, शियाशरण महतो, रामबाबु यादव, मनोज यादव लगायत स्थानीय महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए। उनीहरूले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यसहित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
भोटेकोशी बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि अहिले समग्र नेपाल नै पीडामा रहेको भन्दै सहभागीहरूले दुःखको यस घडीमा पीडित परिवारसँग आफूहरू साथमा रहेको बताएका छन्।








