महेश सिंह, लहान सिरहा -सिरहाको लहान नगरपालिका–३ मटियर्वास्थित लोटस युनिक एकेडेमीले बालबालिकाको अधिकार र संरक्षणप्रति सचेतना जगाउने उद्देश्यले अन्तर्राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले बालबालिकाको अधिकार प्रत्याभूति तथा उनीहरूलाई आफ्ना अधिकारप्रति सचेत गराउने उद्देश्यले हरेक वर्ष बाल दिवस मनाउँदै आएको जनाएको छ। यस वर्षको कार्यक्रममा करिब ३ सय बालबालिकाको सहभागिता रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा कक्षा ९ की छात्रा समीक्षा चौधरीले बालबालिकाको अधिकारका लागि आफूहरू पछि नहट्ने बताइन्। बालबालिकाले आफ्ना अधिकार प्राप्तिका लागि आवाज उठाउँदै अधिकारको लडाइँ निरन्तर जारी राख्ने उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा सेवानिवृत्त शिक्षक जयप्रसाद यादवले अझै पनि समाजमा बालबालिका विभिन्न प्रकारका शोषणमा परिरहेको बताए। बालअधिकार तथा मानवअधिकार संरक्षणका लागि राज्यका अनुगमन तथा नियमन गर्ने निकाय प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको गुनासो थियो।
नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको कार्यक्रममा चर्चा गरिएको थियो। संविधान र कानुनमा अधिकार सुनिश्चित भए पनि व्यवहारमा बालबालिकाले पूर्ण रूपमा अधिकार पाउन नसकेको भन्दै विद्यालयस्तरबाटै बालबालिकालाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत गराउन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बालबालिकाले आफ्ना अधिकारसँग सम्बन्धित विभिन्न सन्देश प्रस्तुत गर्नुका साथै सांस्कृतिक नृत्य तथा अन्य सिर्जनात्मक प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी बालबालिकाले मनोरञ्जनसँगै आफ्ना अधिकारबारे जानकारी प्राप्त गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीले बालबालिकालाई अधिकारप्रति सचेत, जिम्मेवार र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
नेपालमा राष्ट्रिय बाल दिवस भदौ २९ गते मनाउने प्रचलन रहे पनि विद्यालयले यस वर्ष भदौ २६ गते नै कार्यक्रम आयोजना गरेको हो।








