महेश सिंह, लहान । लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बसन्त साहको अध्यक्षतामा आयोजित कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नगर प्रमुख चौधरीले लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकास र कार्यालय स्थापनाका लागि नगरपालिकाले १० धुर जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको छ। उहाँले व्यवसायीको हकहित संरक्षणसँगै संघको संस्थागत विकासमा स्थानीय सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारणसभामा इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डीएसपी, जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष प्रदीप गुप्ता, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य विकास सारडा, केन्द्रीय सदस्य दिनेशलगायतको उपस्थिति रहेको थियो।
त्यस्तै, लहान नगरपालिका–७ का वडाध्यक्ष राम औतार शर्मा लगायत व्यवसायी तथा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संघको वार्षिक गतिविधि, व्यवसायीका समस्या तथा सुनचाँदी व्यवसायको समसामयिक विषयमा छलफल गरिएको थियो। सहभागीहरूले व्यवसायीको सुरक्षा, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा संघलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए।
१३औँ वार्षिक साधारणसभा संघको संस्थागत विकास र व्यवसायीको हकहितका विषयमा महत्वपूर्ण निर्णय तथा प्रतिबद्धतासहित भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।








