महेश सिंह,लहान –सिरहाको लहानमा रहेको लहान एड्भान्स हस्पिटल प्रा.लि. को आयोजनामा सोमबार एक दिवसीय बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेका छन्।
कार्यक्रम २०८२ साउन ५ गते, बिहान १० बजेदेखि लहान–०३ स्थित हस्पिटल चौकमा सुरु भएको हो।
अस्पतालका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. बिरेन्द्र यादव का अनुसार, पछिल्लो समय जलवायु परिवर्तनको असर, अत्यधिक गर्मी, र पानीको कमीका कारण लहान तथा आसपासका क्षेत्रमा रोगको जोखिम बढेको छ। यस्तै रोगका कारण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप तीव्र गतिमा बढिरहेको भन्दै उनले रक्त अभाव निकै गम्भीर चुनौतीको रूपमा उभिएको बताए।
“सिरहा जिल्लामा रगतको चरम अभाव भइरहेको छ। बिरामीहरूले ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको हो,” डा. यादवले भने।
रक्तदान कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी श्याम यादव ले लहान एड्भान्स हस्पिटलले लामो समयदेखि कम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए। साथै, अस्पतालमा दक्ष चिकित्सकहरूमार्फत विभिन्न रोगको उपचार सहज रूपमा हुँदै आएको पनि उनले बताए।
नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाका प्रबन्धक प्रदीप कुमार यादव उर्फ मनिष यादव ले रक्तदान कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको बताए। “स्वस्थ व्यक्तिको एक बोतल रगतले अरुको ज्यान बचाउन सकिन्छ भन्ने सोचका साथ रक्तदानमा सहभागिता उत्साहजनक देखियो,” उनले भने।
लहानमा निजी तथा सामुदायिक अस्पतालहरूमार्फत सहुलियत दरमा रोगको प्रभावकारी उपचार हुँदै आएको जनाइएको छ।
रक्तदान कार्यक्रममार्फत समाजमा मानवता, स्वास्थ्य र सेवा भावना प्रवर्द्धन गर्न अस्पतालले महत्वपूर्ण योगदान दिएको स्थानीयवासीले बताएका छन्।