महेश सिंह लहान सिरहा –युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सिरहाको विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीय खेल क्लबहरूलाई न्यानो ज्याकेट र खेल सामग्री वितरण गरेका छन्। लहान–१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा उनले बस्तीपुर, मौवाही, लहान–२४ मानिकदह, झुटकी लगायत क्षेत्रका विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई चिसो मौसममा सहज रूपमा विद्यालय जानसकून् भन्ने उद्देश्यले ज्याकेट प्रदान गरेका हुन्।
त्यसैगरी लहानका विभिन्न फुटबल क्लबहरूलाई फुटबल, भलिबल, नेट लगायतका खेल सामग्री पनि हस्तान्तरण गरिएको छ। मन्त्री गुप्ताको यो पहलले स्थानीय किशोर–युवामाझ उत्साह थपिएको छ।
कार्यक्रममा सहभागी अभिभावक, खेलकर्मी तथा विद्यार्थीहरूले उक्त सहयोगले शैक्षिक तथा खेलक्षेत्रमा सकारात्मक उर्जा थपेको प्रतिक्रिया दिएका छन्। सिरहाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न लक्ष्य बनाएर मन्त्री गुप्ता जिल्लाभर सक्रिय रहेको उल्लेख गरिएको छ।
ज्याकेट र खेल सामग्री वितरणबाट हजारौँ विद्यार्थी तथा खेलाडीहरू लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।







