महेश सिंह लहान- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा बर्दिवास नगरपालिकामा ‘लैङ्गिक हिंसा न्यूनीकरणमा युवाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय युवाहरू, विद्यार्थी, समुदायका प्रतिनिधि तथा सरोकारवाला संस्थाहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले समुदायमा बढ्दै गएको लैङ्गिक हिंसाका रूप, कारण, चुनौती र युवाले निभाउन सक्ने प्रभावकारी भूमिकाबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रमको जानकारी दिंदै ओरेक नेपालकी मधेस प्रदेश संयोजक बिना सिंहले युवाहरू समाज परिवर्तनका मूल शक्ति भएकाले लैङ्गिक हिंसा रोकथाममा उनीहरूको सक्रियता अत्यावश्यक भएको बताइन्।
उनले भनिन्, “युवाहरूले समुदायमा सचेतना फैलाउने, पीडितलाई सहारा दिने र हिंसा विरुद्धको वातावरण निर्माणमा अग्रणी भूमिका खेल्न सक्छन्। यो अभियानले त्यसै दिशामा ऊर्जा र प्रेरणा दिएको छ।”
अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरूले विद्यालय तथा स्थानीय बस्तीमा लैङ्गिक हिंसा रोकथामका गतिविधि विस्तार गर्ने, जनचेतना बढाउने, र हिंसा भएका घटनामा निडर भएर आवाज उठाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमले लैङ्गिक समानता प्रवद्र्धन, सुरक्षित समुदाय निर्माण तथा युवाको नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।













