महेश सिंह लहान सिरहा — विश्व युवा दिवसको अवसरमा लहान सिटी जेसिजले युवालाई खेलकुदसँग जोड्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको छ। लहानस्थित खेल मैदानमा जेसिजको टोली र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल भएको हो।
खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ राख्नुका साथै आपसी मित्रता, सहकार्य र भावनात्मक सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले दिवसका अवसरमा खेल आयोजना गरिएको जेसिजका सन्तोषकुमार यादवले बताए।
कार्यक्रम जेसिज लहानका अध्यक्ष बमचन्द्र चौधरीको अध्यक्षता तथा जेसिजका प्रमुख धर्नीधर अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको साइगेन्द्र साहले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले खेलकुद केवल मनोरञ्जनका लागि मात्र नभई राष्ट्रका लागि योगदान गर्ने, स्वास्थ्य सुधार गर्ने र व्यक्तिबीचको सम्बन्ध सुदृढ बनाउने माध्यम भएको बताए। स्वस्थ जीवनका लागि हरेक व्यक्तिले कुनै न कुनै रूपमा खेलकुदमा सहभागी हुनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष चौधरीले युवा पुस्तालाई विभिन्न रोगबाट जोगाउन तथा स्वस्थ जीवनशैली विकास गर्न खेलकुद आवश्यक रहेको बताए। औपचारिक कार्यक्रमको समापनपछि उनले प्रमुख अतिथि अधिकारीलाई फुटबल हस्तान्तरण गर्दै खेलाडीलाई खेल सुरु गर्न अनुमति दिएका थिए।
विश्व युवा दिवसलाई सिर्जनशील, स्वस्थ र सक्रिय युवासँग जोड्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको आयोजकले जनाएको छ।









