महेश सिंह,लहान सिरहा -सिरहाका विभिन्न विद्यालयमा जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्न विद्यार्थीलाई प्रशिक्षण दिँदै इको क्लब गठन गरिएको छ।
केयर नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, प्राविधिक धार, तिनकोनी र लक्ष्मीपुरपतारी गाउँपालिका–२ स्थित श्री डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा विद्यार्थीलाई जलवायु मैत्री गाउँ निर्माण, वातावरण संरक्षण, सरसफाइ तथा पर्यावरणीय संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको हो।
लक्ष्मीपुरपतारी–२ स्थित श्री डोमी चौधरी माध्यमिक विद्यालयमा २१ सदस्यीय इको क्लब गठन गरिएको छ। क्लबमा तीन जना शिक्षक र १८ जना विद्यार्थी रहेका छन्। नवगठित क्लबका अध्यक्ष गोविन्द साहले विद्यालयलाई हरित, सफा तथा वातावरणमैत्री बनाउँदै पर्यावरण संरक्षणका गतिविधिमा विद्यार्थीलाई सक्रिय गराउने बताउनुभयो।
राष्ट्रिय कृषक समूह महासंघ नेपालकी प्रतिनिधि रचना श्रेष्ठका अनुसार केयर नेपालको आर्थिक सहयोगमा सिरहाका चार विद्यालयमा इको क्लब गठन भइसकेको छ भने एक विद्यालयमा क्लब गठन गर्न बाँकी रहेको छ। विद्यालय तहबाटै वातावरण संरक्षणसम्बन्धी चेतना विकास गर्न प्रशिक्षण तथा क्लब गठनले योगदान पुर्याउने उहाँले बताउनुभयो।
प्रशिक्षणको सहजीकरण विभा कुमारी यादव र पिंकी कुमारी शर्माले गर्नुभएको थियो। कार्यक्रममा धनगढीमाईस्थित जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनिता साह, महासंघका फिल्ड अफिसर राजीवकुमार दास, अभियन्ता प्रमोद ठाकुर, पालिका महासंघ अध्यक्ष प्रेमकुमारी मण्डल, सचिव आशाकुमारी दासलगायतको सहभागिता थियो।
विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरीले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षणले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। विद्यालयका फोकल शिक्षक किशुनदेव ठाकुरलाई इको क्लबको समन्वयको जिम्मेवारी दिइएको जनाइएको छ।
इको क्लबले विद्यालय परिसरमा सरसफाइ, वृक्षरोपण तथा हरियाली प्रवर्द्धन, प्लास्टिकजन्य फोहर न्यूनीकरण र वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाइएको छ।








