महेश सिंह सिरहा –जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रिय अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या काण्डसम्बन्धी मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा दायर भएको दाबी गर्दै सिरहाको गोलबजारमा बिहीवार बृहत विरोध प्रदर्शन गरेको छ।
जसपा नेपाल सिरहाका जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको उक्त प्रदर्शनमा सयौं कार्यकर्ता सहभागी भएका थिए। कार्यक्रममा सम्बोधन गर्दै नेता विजय यादवले अध्यक्ष यादवलाई फसाउन झुटा मुद्दा लगाइएको भन्दै तत्काल मुद्दा खारेज गर्न सरकारलाई चेतावनी दिए।
उनले मुद्दा खारेज नभए मधेसमा पुनः विद्रोह चर्किने दाबी गर्दै सरकारलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए। विरोध कार्यक्रममा जसपा नेपालका सिरहास्थित शीर्ष नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।







