महेश सिंह,लहान -आगामी २०८४ सालमा हुने निर्वाचनमा महिलालाई प्रमुख स्थानमा उम्मेदवारीको अवसर दिनुपर्ने मागसहित सिरहामा ‘अनुपम अभियान’ सञ्चालन गरिएको छ। अभियानअन्तर्गत गोलबजार तथा हुलाकी राजमार्गअन्तर्गत भगवानपुर गाउँपालिका परिसरमा महिला अधिकार र राजनीतिक सहभागितासम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो।
अधिकारकर्मी रिता महतोको नेतृत्वमा भएको कार्यक्रममा महिलाको राजनीतिक प्रतिनिधित्वलाई अर्थपूर्ण बनाउनुपर्ने तथा निर्वाचनमा महिलालाई प्राथमिकताका साथ टिकट प्रदान गर्नुपर्ने विषयमा छलफल गरिएको थियो। अभियानकी प्रतिनिधि रिता महतोले महिलालाई निर्णय तहमा पुर्याउन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा अभियानी करुणा साह, महिला मानव अधिकारकर्मी जानकी यादव, नेपाल बीबीसीका पत्रकार महेश सिंह, अधिकारकर्मी रिनु कर्ण, राम भरोसी महतो, वरिष्ठ पत्रकार गोविन्द विष्ट, अधिकारकर्मी लक्ष्मी महरा लगायत सयौँ महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले निर्वाचनका बेला महिलालाई केवल समानुपातिक वा आरक्षित सहभागितामा सीमित नगरी प्रत्यक्ष निर्वाचनतर्फ पनि प्रमुख तथा प्रतिस्पर्धी स्थानमा उम्मेदवार बनाउनुपर्ने धारणा राखेका थिए। महिलाको राजनीतिक सहभागिता बढाउन दलहरूले उम्मेदवारी छनोटदेखि नै महिलालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
अभियानी करुणा साहका अनुसार २०८४ को निर्वाचनलाई लक्षित गर्दै सिरहाका विभिन्न स्थान, चोक तथा बस्तीमा अभियान निरन्तर सञ्चालन भइरहेको छ। महिलालाई नेतृत्व तहमा स्थापित गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रममार्फत राजनीतिक अधिकार र प्रतिनिधित्वका विषयमा बहस अघि बढाइएको उहाँले बताउनुभयो।
अन्तरपुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को पहलमा सञ्चालन भइरहेको ‘अनुपम अभियान’ले महिलाको कानुनी तथा आर्थिक अधिकारको संरक्षणसँगै राज्यका विभिन्न तहमा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।








