महेश सिंह लहान सिरहा-नेकपा एमाले सिरहा जिल्ला कमिटीको पूर्ण बैठक बसेर यही मंसिर २७, २८ र २९ गते भक्तपुर सल्लाघारीमा हुने ११औं राष्ट्रिय महाधिवेशनलाई प्रभावकारी बनाउन विविध जिम्मेवारी बाँडफाँड गरिएको छ। महाधिवेशनलाई भव्य र सफल बनाउन जिल्लास्तरका सबै संगठन, जनवर्गीय संस्था तथा कार्यकर्ताहरूलाई सक्रिय भूमिकामा परिचालन गर्न बैठकले निर्णय गरेको हो।
बैठकमा महाधिवेशनलाई शक्ति प्रदर्शनको महत्वपूर्ण अवसरका रूपमा हेर्दै जिल्लाबाट उल्लेखनीय जनसहभागिता सुनिश्चित गर्ने तयारीबारे विस्तृत योजना प्रस्तुत गरिएको थियो। विभिन्न टोल, वडा, पालिका तथा जिल्लास्तरमा संयोजक, सहसंयोजक र कार्यदल गठन गरिएका छन्।
पार्टीले “राष्ट्रको अस्तित्व जोगाउन, नेपाल राष्ट्र बचाउन” र “समृद्धि, विकास र सु–शासन स्थापनाका लागि एमाले आवश्यक” भन्ने सन्देशसहित महाधिवेशनलाई देशव्यापी उत्साहको केन्द्र बनाउने तयारी गरेको छ।
बैठकमा सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय हित, सु–शासन तथा विकासको आवश्यकता जोड्दै एमालेलाई मजबूत जनसमर्थन आवश्यक भएको धारणा राखे। उनीहरूले “मेरो होइन, माटोको बोली — फेरि एकपटक केपी ओली” जस्ता नारासहित महाधिवेशनलाई सफल बनाउन सबै तहका कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे। पार्टीका अनुसार सिरहाबाट ठूलो संख्यामा प्रतिनिधि, पर्यवेक्षक तथा समर्थकहरू महाधिवेशन स्थल सल्लाघारी, भक्तपुरतर्फ प्रस्थान गर्ने तयारीमा छन्।







