महेश सिंह लहान , खडग नगरपालिका – जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरी जिल्लाको खडग नगरपालिकास्थित खार्चुहीया बजारमा भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेकपा (एस) परित्याग गर्दै करिब १०० जनाले जसपा नेपालमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नवप्रवेशी कार्यकर्ताहरुलाई स्वागत गर्दै पार्टीको संगठन विस्तार र आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे। उनले जसपा नेपालले तराई-मधेसमा बलियो संगठन निर्माण गर्दै जनताको अधिकार र पहिचानका लागि संघर्ष जारी राख्ने बताए।
कार्यक्रममा सिरहा तथा सप्तरी जिल्लाका वरिष्ठ नेता विजय कुमार यादव सहित दर्जनौं नेताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशी कार्यकर्ताहरूलाई जसपा नेपालमा स्वागत गर्दै अध्यक्ष यादवले गम्छा, फूलमाला र अबिरको टीका लगाएर पार्टीमा भित्र्याएका थिए।
जसपा नेपालले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको छ। मधेसमा आफ्नो प्रभावलाई थप मजबुत बनाउन पार्टी नेतृत्व सक्रिय रूपमा क्रियाशील रहेको बताइएको छ।