संजू कुमारी दास, – नवराजपुर गाउँपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा श्रमिक महिलाहरूको अधिकार सुनिश्चित गर्न आन्दोलन आवश्यक रहेको धारणा राखिएको छ। कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले महिलाहरूले आन्दोलन बिना अधिकार प्राप्त गर्न नसक्ने बताइन्।
कार्यक्रममा पालिका अध्यक्ष शिव उद्गार यादव, उपाध्यक्ष पुनम कुमारी यादव, वडाध्यक्षहरू, मानव अधिकार अभियन्ता, प्रहरी प्रशासन, र स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। महराले सामाजिक संरचनाका कारण महिलाहरू निरन्तर उत्पीडनमा पारिएको बताउँदै भनिन्, “महिलाहरूले अझै पनि घरायसी तथा श्रम क्षेत्रमा विभेदको सामना गर्नुपरेको छ। श्रमिक महिलाहरू पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्मबाट वञ्चित छन्।”
कार्यक्रममा सिराहामा भएको विभिन्न महिला हिंसाका घटनाहरूको पनि चर्चा भयो। रिंकुश सदाको हत्या प्रकरण अझै न्याय नपाएको उल्लेख गर्दै महराले भनिन्, “पञ्चायती मिलापका कारण अपराधीहरू सजायबाट उम्किरहेका छन्। पैसाको भरमा पीडकले छुट पाउने, पीडितले न्याय नपाउने अवस्था अन्त्य हुनुपर्छ।”
महिला हिंसाका घटनाहरूमा प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै उनले भनिन्, “बलात्कारका घटनामा पहिला दुवै पक्षसँग कुरा बुझेर मात्र उजुरी दर्ता गर्ने भनिन्छ। यस्तो व्यवस्थाले पीडितको न्याय प्रक्रियामा ढिलाइ गरिरहेको छ।”
कार्यक्रमका अन्य वक्ताहरूले पनि महिला अधिकार सुनिश्चित गर्न सामाजिक संरचनाको पुनरावलोकन आवश्यक रहेको बताए। जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव ले समाजमा गहिरो रूपमा जरा गाडेको लैङ्गिक विभेदकै कारण महिलाहरू हिंसा भोग्न बाध्य भएको उल्लेख गरिन्।
भूमिहीन किसान संगठनका प्रतिनिधि शिवराम महराले ३६ वर्षदेखि गाउँपालिकामा काम गर्दै आए पनि यस्तो अन्तरक्रिया पहिलो पटक देखेको बताए। उनले सामाजिक चेतनाको अभावका कारण महिलामाथिको शोषण र लागू औषधको दुव्र्यसन बढिरहेको बताए।