महेश सिंह लहान, सिरहा – लहान नगरपालिकामा सडक पूर्वाधार सुधारको क्रम अघि बढ्दै छ। यसै क्रममा, लहान नगरपालिका–१, २, ३ र १९ का वडावासीलाई प्रत्यक्ष लाभ पुग्नेगरी थाना चौकदेखि कटहा जोड्ने सडक कालोपत्रे (अस्फाल्ट) हुने भएको छ। उक्त सडक निर्माणको शिलान्यास लहान नगरपालिकाका मेयर महेश चौधरीले आज एक विशेष समारोहबीच गरेका छन्।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष युगलकिशोर चौधरी, सियाराम यादव, पत्रकार महासंघ सिरहा जिल्ला सभापति मनोज बनैता, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।
सडक कालोपत्रे भएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले सजिलो आवागमन, व्यापार व्यवसायमा वृद्धि र समग्र विकासको लाभ लिन सक्ने विश्वास लिइएको छ। नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विभिन्न स्थानका सडक स्तरोन्नतिको योजना अघि बढाइरहेको जनाइएको छ।