महेश सिंह लहान – इस्लाम धर्मावलम्बीहरूको महान चाड ईदुल फित्र नजिकिएसँगै सिरहाको लहान नगरपालिकाले विपन्न मुस्लिम परिवारहरूलाई राहत वितरण गरेर सामाजिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
नगरप्रमुख महेश प्रसाद चौधरी नेतृत्वको स्थानीय सरकारले २५० मुस्लिम परिवारलाई खाद्य सामग्री वितरण गर्दै ईदको अवसरमा खुसी बाँड्ने प्रयास गरेको हो। राहतस्वरूप १० किलो चामल, १ किलो नुन, दाल, तेल, सोयाबिन, चिनी, मटर, १ किलो मासु र चना प्रदान गरिएको छ।
नगरप्रमुख चौधरीले समुदायका सबै वर्ग र धर्मलाई सम्मान गर्दै अघि बढ्नु नै साँचो लोकतन्त्रको परिचय हो भन्ने सन्देश दिन खोजेका छन्। राहत वितरण सिरहा टाईम्स अनलाइनको सहजीकरणमा सम्पन्न भएको थियो।
स्थानिय मुस्लिम समुदायले नगरपालिकाको यस कदमलाई स्वागत गर्दै आगामी दिनहरूमा पनि यस्तो सहयोग निरन्तर रहोस् भन्ने कामना गरेका छन्।