महेश सिंह लहान सिरहा – राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयले २५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिताका विजयीहरूलाई सोमबार सम्मान गरेको छ।
‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’ भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार’ भन्ने मूल सन्देशलाई प्राथमिकतामा राखिएको थियो।
जनकपुरधामस्थित आयोगको प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट सहभागी भएका विद्यार्थीहरूद्वारा प्रस्तुत निबन्धमध्ये उत्कृष्ट ठहरिएका तीन जना विजयीलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।
कार्यक्रममा आयोगका प्रदेश संयोजक, अधिकारकर्मी तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। उनीहरूले मानव अधिकार प्रवर्द्धनमा युवाहरूको भूमिका उल्लेख्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रिय मानव अधिकार आयोगले विगत २५ वर्षदेखि देशभर मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोगको मधेश प्रदेश कार्यालयले आगामी दिनहरूमा पनि शिक्षा तथा युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने जनाएको छ।