महेश सिंह सिरहा – जेन-जि आन्दोलनमा सहादत प्राप्त गरेका लहान नगरपालिका–१५ ढोडनाका सहिद विजय चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मानव अधिकारका लागि काम गर्ने संस्था इन्टरनेशनलका सिरहा जिल्ला अध्यक्ष रिता महतोको नेतृत्वमा सम्पूर्ण कार्यसमिति सहिदको परिवारमा पुगेको छ।
सहिदका आमासँग भेटघाटका क्रममा अध्यक्ष महतोले आँसु झार्दै भनिन्, “तपाईंको मात्रै कोख उजाडिएको होइन, विजय नेपाली सबै आमाको छोरा थियो। उहाँको बलिदानले हामी सबैलाई पीडा दिएको छ।”
श्रद्धाञ्जली कार्यक्रममा प्रभा नायक, संजु दास, पुनम कर्ण, विजय महतो, अशोक महतो, ब्रह्मदेव महतोलगायतका कार्यसमितिका सदस्यहरूले सहिद परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेका थिए।
कार्यक्रममा वक्ताहरूले विजय चौधरीको बलिदानलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदानका रूपमा स्मरण गर्दै न्याय, समानता र अधिकारका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका थिए।