महेश सिंह, सिरहा – नेपाली काङ्ग्रेसले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई निरन्तरता दिएको छ। वडानं. २ मझौरामा आयोजित कार्यक्रम स्थानीय नेता बिश्वनाथ काम्तको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादव रहेका थिए। विशिष्ट अतिथिमा उपेन्द्र यादव, शैलेन्द्र यादव, सोभा यादव, जयकृष्ण यादव, बिश्वमोहन यादव, रामबाबु यादव, पवन यादव, सुभनारायण यादव, बैजनाथ यादव, कृषकुमार यादव र खुशीलाल यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजसेवी कृष्ण मोहन यादवले आमा–जनताको समस्या पहिचान गरी सेवा र सहयोगमार्फत समाधानमा जुट्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “सामाजिक उत्तरदायित्वका साथ जनताको नजिक पुगेर काम गर्न सकेमात्र पार्टीको विश्वास र जनसमर्थन बलियो हुन्छ।”
प्रमुख अतिथि सभापति यादवले पार्टी संगठन विस्तार र जनसम्पर्कमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे।
उनले भने, “जनताको मन जित्ने माध्यम सेवा हो, त्यसैले हामी सेवा र सहयोगका माध्यमबाट जनता बीच उपस्थित हुनुपर्छ।”
कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना आदान–प्रदान गर्दै आगामी राजनीतिक दिशा, चुनावी तयारी र स्थानीय मुद्दामाथि छलफल गरेका थिए।
कार्यक्रम अन्त्यमा सहभागीहरूले संगठन सुदृढीकरण र जनसेवामार्फत काङ्ग्रेसको जनविश्वास पुनःस्थापना गर्ने संकल्प व्यक्त गरे।







