महेश सिंह, सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–३ का स्थानीय युवा राजकुमार यादव र जनमत पार्टीका युवा नेता तथा समाजसेवी रामसुरेश यादवले व्यक्तिगत लगानीमा जगतपुरस्थित ब्रह्म बाबाको धार्मिक स्थलमा विजुली बत्ति जडान गरेका छन्।
धर्मप्रतिको आस्था र समाजसेवाको भावनाबाट प्रेरित यी युवाहरूले लामो समयदेखि अन्धकारमा रहेको उक्त स्थलमा श्रद्धालुहरूलाई सहज पूजा–आराधना गर्न सकून् भन्ने उद्देश्यले बत्ति जडान गरेका हुन्।
युवानेता रामसुरेश यादव पछिल्लो स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारसमेत रहेका थिए। उनले भने, “धार्मिक स्थलहरू समाजको आस्थाको प्रतीक हुन्, त्यसैले सरकारी ध्यान नपुगेका ठाउँमा युवाहरूले पहल लिनुपर्छ।”
स्थानीय बासिन्दाहरूले उनीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै धार्मिक स्थलमा उज्यालो फर्किएपछि श्रद्धालुहरूको आवागमन सहज भएको बताएका छन्।
राजकुमार यादव र रामसुरेश यादव दुवै बाल्यकालदेखि समाजसेवामा सक्रिय रहँदै आएका युवा हुन्। उनीहरूका अनुसार सामाजिक उत्तरदायित्व र आस्थाको संरक्षण नै आफ्नो प्राथमिकता हो।







