महेश सिंह लहान सिरहा –सिरहाको धनगढीमाई नगरपालिका–५ मा ३४औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। महिलामाथि बढ्दो डिजिटल हिंसा (साइबर दुर्व्यवहार, ब्ल्याकमेलिङ) न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
यस वर्षको अभियानको नारा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” रहेको थियो।
कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल, क्विक रेस्पोन्स टिम, सामाजिक विश्लेषण र कार्य (SAK) तथा किशोरी अधिकार समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमलाई CARE Nepal ले सहयोग गरेको थियो भने धनगढीमाई नगरपालिकाले समन्वय गरेको थियो।
कार्यक्रममा स्थानीय महिला, किशोरी, सरोकारवाला प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
सहभागीहरूलाई कार्यक्रममा प्रविधिको दुरुपयोगका कारण महिलामाथि हुने साइबर हिंसा, धम्की, ब्ल्याकमेल र गोपनीयता हनन जस्ता गम्भीर समस्याबारे विस्तृत जानकारी दिइएको थियो। साथै, सुरक्षित डिजिटल व्यवहार, गोपनीयता जोगाउने व्यवहारिक उपायहरू र अनलाइन हिंसाको शिकार भएमा कहाँ र कसरी उजुरी दिन सकिन्छ भन्ने विषयमा समेत अभिमुखीकरण गरिएको पुजा साहले जानकारी दिनु भयो।
धनगढीमाई नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायदेखि विद्यालयसम्म सचेतना र अभिमुखीकरण कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







