महेश सिंह लहान सिरहा –फालगुन २१ गते हुन गइरहेको संघीय निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले जसपा नेपालको तर्फबाट प्रत्यक्षतर्फको एकल उम्मेदवारका रूपमा श्री सत्य नारायण यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।
भेलामा पार्टीका क्षेत्रीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मधेसको हक–अधिकार, समान प्रतिनिधित्व र संघीय लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सत्य नारायण यादव उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरेका छन्।
त्यसैगरी, भेलाले समानुपातिक तर्फका उम्मेदवारहरूको नाम पनि सिफारिस गरेको छ। सिफारिस सूची अनुसार
राजलाल यादव, खडक नारायण चौधरी, जितेन्द्र प्रकाश महतो, भोला प्रसाद चौधरी र ललिता कुमारी यादव रहेका छन्।
कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत बनाउन संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र एकताबद्ध रूपमा चुनावी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। भेलाले सिफारिस गरिएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै निर्वाचनमा विजयी गराउन सबै कार्यकर्ता सक्रिय रूपमा लाग्न आह्वानसमेत गरेको छ।








