महेश सिंह लहान सिरहा – सिरहाको लहानमा आयोजित एकदिने गोष्ठीमा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले पत्रकारिता क्षेत्रलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन नीतिगत तथा संरचनागत सुधार अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।
मिडिया काउन्सिलद्वारा बिहीबार आयोजित ‘सञ्चार माध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठीमा वक्ताहरूले पत्रकारको सुरक्षा, पेशागत हकहित, आचारसंहिताको कडाइका साथ पालना तथा सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा राज्यको भूमिका अझ सशक्त हुनुपर्ने धारणा राखे।
गोष्ठीमा बोल्ने वक्ताहरूले संघीय संरचनामा सञ्चार माध्यम लोकतन्त्रको मेरुदण्डका रूपमा रहेकाले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। विशेषगरी विज्ञापन नीति स्पष्ट नहुँदा सञ्चार माध्यम आर्थिक संकटमा पर्दै गएको भन्दै लोककल्याणकारी विज्ञापनलाई संस्थागत र स्थायी बनाउनुपर्ने सुझाव प्रस्तुत गरियो।
कार्यक्रममा पत्रकारिताको नाममा भइरहेको दुरुपयोगप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको थियो। प्रविधिको गलत प्रयोग गर्दै पत्रकारको आवरणमा धम्की दिने, ब्ल्याकमेल गर्ने तथा आचारसंहिता उल्लंघन गर्ने प्रवृत्तिले समग्र पत्रकारिता पेशालाई बदनाम गरिरहेको भन्दै यस्ता गतिविधिमाथि कडा नियमन र कारबाही आवश्यक रहेको निष्कर्ष निकालियो।
वक्ताहरूले पत्रकारको क्षमता अभिवृद्धि, सीपमूलक तालिम, पेशागत सुरक्षा र पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनबिना पत्रकारिता क्षेत्र सुदृढ हुन नसक्ने बताएका थिए। साथै, पत्रकार तथा सञ्चार माध्यमको वर्गीकरण, मापदण्ड निर्धारण र लाइसेन्स प्रणालीबारे समेत बहस गरिएको थियो।
गोष्ठीमा सिरहा र सप्तरीका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मिडिया काउन्सिल, आम सञ्चार प्राधिकरण र पत्रकार महासंघबीच समन्वय बढाउँदै पत्रकारिता सुधारको साझा एजेन्डा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।








