महेश सिंह लहान – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत सितापुर बजारमा ‘लोक आवाज खबर’को कार्यालय उद्घाटन सम्पन्न भएको छ। ग्रामीण भेगका दबिएका आवाजलाई बुलन्द गर्दै पीडितमुखी पत्रकारितालाई प्राथमिकता दिने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको सञ्चारकर्मी विवेक परियारले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै परियारले ग्रामीण क्षेत्रका पीडित नागरिकलाई मिडियासँग सहज पहुँच दिलाउने र उनीहरूका समस्या राज्यसम्म पुर्याउने लक्ष्यसहित स्थानीय स्तरमै कार्यालय स्थापना गरिएको बताउनुभयो।
कार्यालयको उद्घाटन हिन्दु परम्परा अनुसार सञ्चारकर्मी परियारलाई संसार देखाउने आमाको हातबाट रिबन काटेर गरिएको हो, जसले कार्यक्रममा भावनात्मक र सांस्कृतिक महत्त्व थपेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गोरखापत्रका लहान संवाददाता जिवछ उदासीले पत्रकारिता राजनीतिक दबाब र प्रभावबाट मुक्त रहनुपर्नेमा जोड दिनुभयो। उहाँले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा ध्यान दिँदै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै अघि बढ्न आग्रह गर्नुभयो।
स्थानीय सञ्चार सुदृढीकरण र ग्रामीण पत्रकारिताको विकासमा ‘लोक आवाज खबर’को यो कदम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।








