महेश सिंह लहान,पूर्व–पश्चिम लोकमार्ग विस्तारको क्रममा लहानस्थित सहिद स्मारक व्यवस्थापनको विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालले गम्भीर आपत्ति जनाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले स्मारक हालकै स्थानमा जोगाएर सडक निर्माण गर्न माग गरेको छ।
जसपाले विगतमा सहिद स्मारक व्यवस्थापनका लागि सर्वपक्षीय तथा बहुपक्षीय छलफलहरू भएर पनि अहिलेसम्म ठोस काम अघि नबढेको भन्दै चिन्ता व्यक्त गरेको छ। पार्टीले सडक निर्माण कम्पनी, लहान नगरपालिका र केही राजनीतिक दलका नेतृत्वले स्मारक स्थानान्तरणका लागि षड्यन्त्रपूर्ण व्यवहार देखाएको आरोप समेत लगाएको छ।
“सडक विस्तारको काम सहिद स्मारकलाई यथास्थानमा राखेर अघि बढाउनुपर्छ,” जसपा लहान नगर अध्यक्ष राम उदगार महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसपाले स्मारक हटाउने वा अपमान हुने गरी कुनै कदम चाले स्वभिमान आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ।
विज्ञप्तिमा सहिद स्मारकसँग मधेशी जनताको स्वाभिमान र पहिचान जोडिएको उल्लेख गर्दै जसपाले निर्माण कम्पनी र नेपाल सरकारलाई सम्भावित आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारेको छ।
लहानस्थित स्मारकमा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका रमेश महतो, बेचन यादव, मो. अतिस अनसारी, विजय सहनी र प्रमोद सदायको सम्झनामा स्मृति स्तम्भ स्थापना गरिएको छ।
जसपाले सम्पूर्ण राजनीतिक दल, स्थानीय तह, विभिन्न संघसंस्था, समाजसेवी, बुद्धिजीवी, किसान, व्यवसायी, युवा र विद्यार्थी समुदायलाई स्मारक जोगाउन एकताबद्ध हुन आह्वान गरेको छ।