महेश सिंह सिरहा –धनगढीमाई नगरपालिका–२ स्थित श्री मावि बेतहा भवानीपुरमा शुक्रबार लैंगिक हिंसा विरुद्ध सचेतना जगाउने उद्देश्यसहित चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत आयोजित पालिका स्तरीय अन्तरविद्यालय प्रतियोगितामा नगरका ३ वटा वडाबाट चार विद्यालयका बाल क्लब सहभागी थिए। बालबालिकाले चित्रमार्फत समाजमा व्याप्त लैंगिक विभेद, हिंसा र त्यसका प्रभावलाई उजागर गरेका थिए।
“बालबालिकालाई यस्ता विषयमा सचेत तुल्याउँदै अभिव्यक्तिको माध्यम दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” समग्र जनउत्थान केन्द्र लहानका फिल्ड सुपरभाइजर सुरेश चौधरीले भने।
प्रतियोगितामा श्री हिमालय मावि सिमलटोकीको बाल क्लब प्रथम, श्री जनता मावि बेतहाको सूर्योदय बाल क्लब द्वितीय र श्री तु.स.डो. मावि विष्णुपुरकट्टीको तुलसी बाल क्लब तृतीय भए। श्री मावि कुर्वाको हनुमान बाल क्लबले सान्त्वना पुरस्कार पायो।
कार्यक्रममा विजयी क्लबहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता नमुना बाल क्लब धनगढीमाई–२ को संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष अनुष्का चौधरीले गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष हमिद राइन थिए। उनले बालबालिकामार्फत सिर्जनात्मक अभ्यास हुँदै सामाजिक मुद्दामा चेतना फैलिन थालेको बताए। चित्रकला प्रतियोगितालाई केयर नेपालले आर्थिक सहयोग गरेको थियो।