महेश सिंह लहान सिरहा –लहान नगरपालिका–८ मा सञ्चालनमा रहेको लहान मनोकामना कलेज शैक्षिक गुणस्तर, अनुशासन र शान्त शैक्षिक वातावरणका कारण विद्यार्थी तथा अभिभावकको रोजाइको केन्द्र बन्दै गएको छ। कक्षा ११ मा भर्ना भई अध्ययन यात्रा सुरु गरेका नवप्रवेशी विद्यार्थीहरूका लागि कलेजले आयोजना गरेको भव्य स्वागत समारोहले कलेजको शैक्षिक प्रतिबद्धता र व्यवस्थापन क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ।
कलेजका प्रिन्सिपल भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले कलेजको शैक्षिक उपलब्धि, व्यवस्थित संरचना र गुणस्तरीय शिक्षाको खुलेर प्रशंसा गरेका थिए। प्रिन्सिपल साहको कुशल नेतृत्व, अनुशासित व्यवस्थापन र विद्यार्थीमैत्री शैक्षिक वातावरणका कारण लहान मनोकामना कलेज अल्प समयमै विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित भएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, लहान कार्यालयका प्रमुख संजय पाण्डेले कलेजले लहान क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै शिक्षा सुधारको दिशामा मनोकामना कलेज अनुकरणीय बनेको बताए। “यस्ता कलेजले मात्र शिक्षालाई व्यवहारिक, मर्यादित र समाज परिवर्तनको माध्यम बनाउन सक्छन्,” उनले भने।
कलेज प्रशासनका अनुसार लहान मनोकामना कलेज लहान क्षेत्रमा कानुन विषय अध्ययनका लागि सञ्चालनमा आएको पहिलो कलेज हो भने सिराहा जिल्लामा दोस्रो कलेजका रूपमा व्यवस्थित र रमणीय वातावरणमा सञ्चालन हुँदै आएको छ। अनुभवी शिक्षक, आधुनिक पठनपाठन प्रणाली र अनुशासनमा आधारित शैक्षिक अभ्यास कलेजको पहिचान बनेको छ।
स्वागत समारोहका क्रममा प्रिन्सिपल साहले नवप्रवेशी विद्यार्थीहरूलाई खादा र टीका लगाई आत्मीय स्वागत गर्दै अनुशासन, परिश्रम र लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो। उहाँले कलेज केवल पढाइको केन्द्र मात्र नभई जीवनोपयोगी ज्ञान, नैतिकता र नेतृत्व विकासको थलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको औपचारिक सञ्चालन प्राध्यापक तथा सञ्चारकर्मी लालबिहारी यादवले गर्नुभएको थियो। सहभागी अभिभावक तथा शिक्षाविद्हरूले कलेजको निरन्तर प्रगति र प्रिन्सिपल साहको नेतृत्व क्षमताको उच्च प्रशंसा गरेका छन्।







