महेश सिंह लहान –आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य बनाई नेपाली कांग्रेस सिराहा क्षेत्र नं. १ ले समानुपातिकतर्फ नयाँ पुस्ताको सक्रियता, क्षेत्रीय प्रतिनिधित्व र संगठनात्मक सन्तुलनलाई आधार बनाउँदै पाँच नाम केन्द्रमा पठाएको छ।
सिफारिस सूचीको अग्रभागमा रहेका युवा नेता प्रमेश्वर साह करिब तीन दशकदेखि विद्यार्थी राजनीतिदेखि पार्टी संरचनामा उठ्दै आएको पृष्ठभूमिका कारण क्षेत्रीय रूपमा प्रभावशाली मानिन्छन्। नेपाल विद्यार्थी संघको सिराहा अध्यक्ष हुँदै नेविसंघ केन्द्रीय सहमहामन्त्रीसम्म निर्विरोध निर्वाचित भएका साहलाई कांग्रेसले ‘दीर्घ संघर्ष र संगठनात्मक लगानी’ को आधारमा समानुपातिक सूचीमा सिफारिस गरेको बताइन्छ।
उनीसहित श्रीचन पासवान, उषा राउत, शर्मिला पोखेल र सूर्यनारायण यादव को नाम पनि सूचीमा समावेश छ। कांग्रेस नेताहरूका अनुसार सिराहा–१ बाट विविध समुदाय, लिङ्ग समावेशिता तथा अनुभव–ऊर्जाको सन्तुलन कायम गर्दै पाँच नाम चयन गरिएका हुन्।
पार्टीका स्थानीय नेताहरूका अनुसार समानुपातिकमा सिफारिस भएका व्यक्तिहरू क्षेत्रीय संगठनमा सक्रिय, स्थानीय तहमा चुनावी गतिशीलता बढाउन सक्षम र पार्टीलाई लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्। अब केन्द्रले पर्ने अन्तिम निर्णयकाले कस–कसको नाम उम्मेदवारी सूचीसम्म पुग्ने भन्ने टुंगो लगाउने छ।







