महेश सिंह लहान- सिरहा-सिरहाको शैक्षिक र खेलकुद विकासमा महत्त्वपूर्ण कदम चाल्दै प्याब्सन सिरहाले २८ वटा निजी विद्यालयको सहभागितामा ‘टी–२० प्याब्सन इन्टरस्कुल क्रिकेट लिग’ सुरु गरेको छ। युवा प्रतिभालाई विद्यालय स्तरबाटै उजागर गर्ने र क्रिकेट खेलप्रति विद्यार्थीहरूको रुचि बढाउने मुख्य उद्देश्यका साथ आयोजित यस लिगको उद्घाटन खेल शनिबार लहान नगरपालिका–४ स्थित यज्ञभूमि क्रिकेट खेल मैदानमा सम्पन्न भयो।
लिगको पहिलो खेलमा अपोलो ओम सेकेन्डरी स्कुल ले जिबीस एलिट स्कुल लाई ९ विकेटको फराकिलो अन्तर ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
जिबीस एलिट स्कुल ले पहिले ब्याटिङ गर्दै १४.५ ओभरमा सबै विकेट गुमाएर मात्र ५७ रनको सामान्य योगफल खडा गर्यो। जवाफमा,५८ रनको लक्ष्य पाएको अपोलो ओम सेकेन्डरी स्कुल ले मात्र ४.५ ओभर मा एक विकेट गुमाउँदै सहजै लक्ष्य हासिल गर्यो।
यो प्रतियोगिता केवल एक खेल मात्र नभई जिल्लाभरि लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई बाहिर ल्याउने एउटा महत्त्वपूर्ण मञ्च बनेको छ। प्याब्सन सिरहाका जिल्ला अध्यक्ष उमेश चौधरी का अनुसार, यस लिगको मुख्य उद्देश्य स्कुले विद्यार्थीहरूमा रहेको क्रिकेट प्रतिभालाई पहिचान गरी प्रवद्र्धन गर्नु हो।
प्रचुर सम्भावना: लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुर ले सिरहामा प्रचुर क्रिकेट प्रतिभा रहेको तर पहिचान हुन नसकेको बताउँदै, यस प्रतियोगिताले विद्यालय स्तरमा लुकेर रहेका खेलाडीहरूको क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सहकार्य: प्रतियोगिताको आयोजना क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) सँगको सहकार्यमा गरिएको छ। यसलाई लहान क्रिकेट क्लबसहित सिराहा जिल्ला क्रिकेट संघले समन्वय गरिरहेको छ, जसले यस प्रतियोगिताको प्रामाणिकता र महत्त्व लाई अझ बलियो बनाएको छ।
प्याब्सनका जिल्ला उपाध्यक्ष उमेश यादव ले यस प्रतियोगिताले युवाहरूमा क्रिकेट खेलप्रतिको रुचि बढाउन सकारात्मक भूमिका खेल्ने र खेलकुद क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिताहरू नै मुख्य माध्यम रहेको धारणा राखेका छन्। यस टी–२० लिगले सिरहाको विद्यालय शिक्षालाई खेलकुदसँग जोड्दै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने अपेक्षा रहेको छ।







