महेश सिंह सिरहा-विपन्न तथा सेवाबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै नेपाली सेनाको श्री नन्दवक्स गणले सुखीपुर गाउँपालिका–१०, दैपौरी बजारस्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। मंसिर ८ गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको शिविरमा ४६० सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
नेपाली सेनाको श्री सैनिक अस्पताल, श्री नं.२७ बहिनी फिल्ड एम्बुलेन्स गुल्म तथा जिल्लास्थित विभिन्न स्वास्थ्य संस्था र कार्यालयहरूको संयुक्त सहयोगमा भएको शिविरमा साधारण स्वास्थ्य, आँखा, दन्त, स्त्रीरोग, नाक–कान–घाँटी र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको सेनाले जनाएको छ।
शिविरमा पुरुष १७८, महिला १८० तथा बालबालिका १०३ (केटा ४९ र केटी ५४) जनाले स्वास्थ्य जाँच गराएका थिए। स्थानीयको स्वास्थ्य पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले दुर्गम र आर्थिक रूपमा कमजोर समुदायलाई प्रत्यक्ष लाभ पुगेको स्थानीय प्रतिनिधिहरूले बताए।
कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन एनसिसी अल्मुनाई एसोसिएशन नेपाल (सिरहा) का क्याडेटहरूले सक्रिय स्वयंसेवक सेवा प्रदान गरेका थिए। सेनाले यस्ता जनहितका गतिविधिलाई निरन्तरता दिँदै समुदायसँग सम्बन्ध विस्तार र विश्वास अभिवृद्धि गर्ने लक्ष्य रहेको जनाएको छ।







