महेश सिंह सिरहा- कर्जन्हा नगरपालिका–२ अन्तर्गत एक किशोरीको बर्बरतापूर्वक हत्या भएको घटनाले स्थानीय समुदायको ध्यानाकर्षण भएको छ। कर्जन्हा–१ निवासी अबिना दनुवारको शंकास्पद अवस्थामा हत्या गरिएको जानकारी सार्वजनिक भएपछि क्षेत्र शोकमग्न बनेको छ।
घटनाप्रति गहिरो दुःख, शोक र संवेदना व्यक्त गर्दै स्थानीय सरोकारवाला तथा समाजसेवीहरूले दोषी पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकै बीचमा यस प्रकारको घटना हुनु अत्यन्तै पीडादायी र गम्भीर रूपमा चिन्ता बढाउने विषय हो।
स्थानीयहरूले घटनामा कुनै पनि प्रकारको राजनीतिकरण तथा पक्षपात नगरी निस्पक्ष तरिकाले छानबिन अगाडि बढाइ पीडित परिवारलाई न्याय दिलाउन राज्यका अंगलाई ध्यानाकर्षण गराएका छन्। “यो केवल एक परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजका लागि संवेदनशील मुद्दा हो,” एक स्थानीय प्रतिनिधिले भने।
किशोरीको मृत्युका कारण, घटनाको वास्तविकता र सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। समुदायले छानबिनलाई छिटोछरितो, पारदर्शी र निष्पक्ष बनाउन प्रहरी प्रशासनसँग अपेक्षा राखेको छ।







