महेश सिंह सिरहा लहान – ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सप्तरीको राजविराजमा राष्ट्रिय मानव अधिकार आयोग (NHRC) र मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयुक्त पहलमा बृहत् कार्यक्रम गरिएको छ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित भएको दिनको स्मरण गर्दै आयोजित यस दिवसमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा र्याली र अन्तरक्रिया सम्पन्न भयो।
र्यालीमा सहभागीहरूले ‘सबैका लागि न्याय, सबैका लागि सम्मान’ लगायतका नारा बोकेका प्लेकार्डसहित राजविराज बजार परिक्रमा गरेका थिए। मानव अधिकारको रक्षा र प्रवर्द्धनका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिकको भूमिका अपरिहार्य रहेको सन्देश कार्यक्रमले दिएको छ।
र्यालीपछि भएको अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशमा मानव अधिकारको अवस्था र यसका चुनौतीहरूबारे गहन छलफल भयो।मधेस प्रदेश सरकारका प्रतिनिधिहरूले प्रदेशमा विशेषगरी दलित, महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। खेलकुद तथा समाज कल्याण मन्त्रालयका एक अधिकारीले भने, “हामी मानव अधिकारको सम्मानका लागि कानुनी शासनलाई बलियो बनाउन क्रियाशील छौँ।”
यद्यपि, कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरूले मधेस प्रदेशमा दण्डहीनता, जातीय भेदभाव र महिला हिंसाका घटनाहरू अझै पनि प्रमुख चुनौतीका रूपमा रहेको भन्दै आयोग र सरकारको ध्यानाकर्षण गराएका थिए।
राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले यस क्षेत्रमा हुने मानव अधिकार उल्लंघनका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै, पीडितलाई न्याय दिन र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि निरन्तर अनुगमन र समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे। उनले मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि सबै पक्षबाट थप गम्भीर प्रयास जरुरी रहेको निष्कर्ष सुनाए।








