महेश सिंह लहान – सप्तरीको बोदेबर्साइन नगरपालिका–२, नेङ्गडा बैरियास्थित श्री शत्रुध्न माध्यमिक विद्यालयमा ७०औं वार्षिक उत्सव तथा अभिभावक दिवस–२०८२ विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, स्थानीय जनप्रतिनिधि, शिक्षाकर्मी तथा समाजसेवीहरूको विशेष उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बृजलाल गोठिया यादवको अध्यक्षतामा सम्पन्न उत्सवमा विद्यालयको शैक्षिक प्रगति, अनुशासन, वार्षिक उपलब्धि तथा अभिभावक–विद्यालय समन्वयका विषयमा विस्तृत समीक्षा गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि यादवले ग्रामीण भेगका विद्यालयहरूले गुणस्तर सुधारका लागि गर्दै आएको प्रयास सराहनीय रहेको बताउँदै शिक्षामा आवश्यक पूर्वाधार, स्रोत तथा सशक्त जनसहभागिताको आवश्यकता औंल्याउनुभयो। उहाँले विद्यार्थीलाई नियमित अध्ययन, लक्ष्यप्रति प्रतिबद्धता र सकारात्मक सोचले सफलताको बाटो खोल्ने उल्लेख गर्नुभयो।
वार्षिक उत्सवमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान, सांस्कृतिक प्रस्तुति, कविता, नृत्य, बौद्धिक प्रतियोगितासहित विविध गतिविधिले विद्यालय परिसर उत्साहमय बनेको थियो।
विद्यालयका सञ्चालक तथा अभिभावकले यस्तो आयोजनाले विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्न सहयोग पुग्ने तथा विद्यालय–समुदाय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरेका छन्।







