महेश सिंह लहान सिराहा-धनगढीमाई नगरपालिका–१२ अन्तर्गत छट्टु बरहीटोल, विष्णुपुरकट्टिमा बस्दै आएकी पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहा समाजसेवा आमजनता नेपालले नगद रु. १७ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारीहरूले उक्त रकम रजनी ठाकुरको उपचारका लागि हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सिराहा समाजसेवा आमजनता नेपालका अध्यक्ष प्रदीप महतो, उपाध्यक्ष रमेश यादव, सदस्य निराजन सिंह, अभियानकर्मी देवनारायण महतो, वीरेन्द्र महतो, चिरञ्जीवी दंगाल, प्रदीप दाहाल, डोरेन्द्र यादव, भोजराज यादव, पत्रकारहरू विनोद मण्डल, महेश सिंह, संजीव सिंहलगायत स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
१४ वर्षीया रजनी ठाकुर करिब दुई–तीन वर्षअघि बाख्राको घाँस काट्न जाँदा रुखबाट खस्दा बायाँ खुट्टाको तिघ्रामा गम्भीर चोट लागी हड्डी भाँचिएको थियो। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण प्रारम्भिक उपचार स्थानीय सहयोगमा गरिएको भए पनि खुट्टामा राखिएको स्टिल भाँचिएपछि घाउ बल्झिएको र थप जटिल उपचार आवश्यक परेको परिवारले जनाएको छ।
हाल रजनीको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ। समयमै उपचार हुन नसके खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकको सुझावपछि स्थानीय देवनारायण महतो र पत्रकार विनोद मण्डललगायतको पहलमा ‘रजनी ठाकुर बचाउ अभियान’ सञ्चालन गरी सहयोग संकलन थालिएको थियो।
उक्त अपिललाई स्वीकार गर्दै सिराहा समाजसेवा आमजनता नेपालले रजनीको जीवन रक्षा र उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको अध्यक्ष प्रदीप महतोले बताए। संस्थाले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनकारी व्यक्तिहरूलाई पनि रजनी ठाकुर बचाउ अभियानमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।







