महेश सिंह लहान सिरहा –सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावर्ण गाउँपालिका–३ मतिगाडा निवासी नर्मदा देवी चौधरीको मृत्यु भएको एक वर्ष बितिसक्दा पनि उनका श्रीमान् मनोज कुमार चौधरीले क्रिया खर्च, ऋण मिनाहा तथा बचत रकम फिर्ता नपाएको भन्दै आशा लघुवित्त वित्तीय संस्थाविरुद्ध गम्भीर गुनासो गरेका छन्।
मृतक नर्मदा देवी चौधरी आशा लघुवित्तको सेवा ग्राही रहेको बताइएको छ। श्रीमतीको असामयिक निधनपछि आवश्यक सबै कागजपत्र तथा प्रक्रिया पूरा गरी एक वर्षदेखि रुपनीचौकस्थित आशा लघुवित्तको कार्यालय धाइरहेका भए पनि संस्थाले न त क्रिया खर्च उपलब्ध गराएको छ, न ऋण मिनाहा गरेको छ, न त बचत रकम फिर्ता दिएको पीडित मनोज कुमार चौधरीको आरोप छ।
एकातिर श्रीमती गुमाउँदाको पीडा, अर्कोतिर लघुवित्त संस्थाको बेवास्ता र मानसिक दबाबले आफू चरम पीडामा परेको पीडित चौधरीले बताए। गरिब तथा दलित समुदायलाई उकास्ने उद्देश्यका साथ स्थापना भएका लघुवित्त संस्थाहरूले नै गरिब, दलित, निमुखा र सोझा जनतालाई शोषण र ठगी गरिरहेको उनको भनाइ छ।
न्याय नपाएपछि पीडित सेवा ग्राही र संघर्ष समितिले आशा लघुवित्तविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन्। संघर्ष समितिका अनुसार मृतकको मृत्यु भएको एक वर्ष पूरा भइसक्दा पनि माग सम्बोधन नभए कार्यालयमा आगजनीजस्ता कडा कदम चाल्न बाध्य हुने अवस्था आएको छ।
यसैबीच पीडित सेवा ग्राही तथा संघर्ष समितिका जिल्ला प्रतिनिधि विनोद चौधरी, मधेस प्रदेश अध्यक्ष धनीकलाल चौधरी, इन्चार्ज अर्जुन विश्वकर्मा लगायतका व्यक्तिहरू तथा सञ्चारकर्मीहरू आशा लघुवित्तको कार्यालय पुगेका थिए। सो क्रममा कार्यालयका कर्मचारीहरूले मृतक परिवारको विषय छिटोभन्दा छिटो समाधान गर्ने आश्वासन दिएको संघर्ष समितिले जनाएको छ।
पीडित परिवारले आश्वासनमा मात्रै सीमित नभई व्यवहारमै राहत र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।








