संजु कुमारी दास, लाहान, सिरहा – गोलबजार नगरपालिका-८, भाइजी टोलस्थित आधारभूत विद्यालयमा बालविवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालाहरूको सहभागितामा एकदिने वडा भेला सम्पन्न भएको छ। मुक्ति नेपालद्वारा आयोजित उक्त कार्यक्रममा करिब १३० जना सहभागी भएका थिए, जसमा स्थानीय जनप्रतिनिधि, शिक्षक, सामाजिक अगुवा, महिला, किशोर-किशोरी, अभिभावक, स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा किशोरी समूहका प्रतिनिधिहरू उपस्थित थिए।
भेलामा बालविवाहका कारण, यसको असर, तथा रोकथामका उपायहरूबारे गहिरो छलफल भएको थियो। कार्यक्रममा स्थानीयहरूले समाजमा व्याप्त परम्परा, आर्थिक अवस्था, परिवारको दबाब, तथा अन्य विविध कारणहरूले बालविवाहलाई बढावा दिइरहेको विषय उठाएका थिए।
१७ वर्षीया वर्षा सदा भन्छिन्, “हाम्रो समाजमा १४-१६ वर्षकै उमेरमा विवाह गरिदिन्छन्। कोही गरिबीले गर्दा, कोही समाजको डरले बालविवाह गर्न बाध्य हुन्छन्। हामी पढ्न चाहन्छौं, तर घरायसी तथा खेतको कामले गर्दा विद्यालय जान पाउँदैनौं। जब उमेर बढ्दै जान्छ, परिवारले विवाहको कुरा निकाल्छ, र समाजको दबाबले गर्दा हामी बाध्य भएर बिहे गर्नुपर्छ।”
६० वर्षीया लक्ष्मीनिया मण्डलले विगत र वर्तमान विवाह प्रथाको अन्तर स्पष्ट पार्दै भनिन्, “पहिले कम उमेरमै विवाह गरे पनि गउना (संगै बस्ने प्रक्रिया) केही वर्षपछि मात्र हुन्थ्यो, जसले गर्दा बालिका केही ठूलो भएपछि मात्र दाम्पत्य जीवन सुरू हुन्थ्यो। अहिले भने विवाहसँगै बस्ने चलन छ, जसले थप समस्या निम्त्याएको छ।”
शिक्षक लट्टु कुमार पूर्वेले बालविवाह रोक्न शिक्षाको महत्त्वबारे जोड दिँदै भने, “बालविवाह हुनुको प्रमुख कारण शिक्षा अभाव हो। अभिभावकहरूले छोरालाई विद्यालय पठाउँछन्, तर छोरीलाई घरको काममा लगाउँछन्। यदि सबै बच्चाहरू नियमित विद्यालय आउन थाले भने धेरै समस्या समाधान हुन सक्छ।”
समाजसेवी रामलखन मण्डलका अनुसार बालविवाह रोक्न सामाजिक दृष्टिकोण परिवर्तन आवश्यक छ। उनी भन्छन्, “जब छोरीको सानै उमेरमा विवाह गराउँदा १५ जनाले समर्थन गर्छन् र केवल दुईजनाले मात्र विरोध गर्छन्, त्यस्तो अवस्थामा अभिभावकहरू दबाबमा पर्छन्। समाजको सोच परिवर्तन गर्न जरुरी छ।”
वडा सदस्य मोतिलाल मण्डलले अभिभावकहरूलाई छोराछोरीबीच विभेद नगरी दुवैलाई पढाउन आग्रह गर्दै भने, “यदि कसैको आर्थिक अभावका कारण पढाइ छुटेको छ भने वडाबाट आवश्यक सहयोग व्यवस्था गरिनेछ। तर, बालविवाहको सट्टा शिक्षालाई प्राथमिकता दिनुपर्छ।”
कार्यक्रममा सहभागीहरूले बालविवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षले मिलेर पहल गर्नुपर्ने निष्कर्ष निकाले। सामाजिक चेतना अभिवृद्धि, शिक्षामा पहुँच, र आर्थिक सुधारका माध्यमबाट मात्रै समाजमा परिवर्तन ल्याउन सकिने उनीहरूको धारणा थियो।