महेश सिंह लहान – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सुरुङ्गा नगरपालिका–३ मा अभिभावक तथा बालबालिकामाझ मनो–सामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय भेडियाले आयोजना गरेको कार्यक्रम सुरुङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखासँग सहकार्यमा वडा कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक पूर्ण कुमार राई, सवल नेपालको शिक्षा समुन्नति कार्यक्रमका अधिकृत राधेश्याम राम, स्थानीय वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा प्रमुख मुना मगर तथा स्थानीय महिला अधिकारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
सहभागीलाई लैङ्गिक हिंसा रोकथाम, सुरक्षासम्बन्धी सचेतना, बालसुरक्षा, अभिभावक–बालबालिका सम्बन्ध र मनोसामाजिक सुदृढीकरणका विषयमा विस्तृत मार्गदर्शन प्रदान गरिएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक राई र अधिकृत रामले संयुक्त रूपमा सहजीकरण गरेका थिए।
उनिहरूले प्रविधिको सुरक्षित प्रयोग, बालबालिकाको मनोवैज्ञानिक अवस्था, जोखिम कम गर्ने उपाय र हिंसाविरुद्ध समुदायको भूमिकाबारे सहभागीसँग अन्तरक्रिया गर्दा लैङ्गिक हिंसा रहित समाज निर्माण सबैको साझा जिम्मेवारी भएकोमा जोड दिए।
१६ दिने अभियानकै सन्दर्भमा समुदायस्तरमा गरिएको यो परामर्श कार्यक्रम अभिभावक र बालबालिकाबीच सकारात्मक संवाद र व्यवहार निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।







