महेश सिंह लहान सिरहा- लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिण्डा (पर्सा)स्थित रविन्द्र कामैतको घरमा मंगलबार राति भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ। आगलागीबाट लत्ता–कपडा, नगद रकमसहित दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका नगरपालिका स्रोतले जनाएको छ।
स्थानीयका अनुसार घरभित्रबाट सुरु भएको आगो केही मिनेटमै नियन्त्रणबाहिर पुगेपछि छिमेकी तथा स्थानीय युवाहरूले तत्काल जुटेर आगो नियन्त्रण प्रयास सुरू गरेका थिए। दमकल नपुगुञ्जेल स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भएका हुन्। ठूलो जनहानिबाट भने जोगिएको जनाइएको छ।
आगलागीको कारण खुल्न बाँकी रहे पनि विस्तृत विवरण संकलनका लागि स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थल पुगेका छन्। प्रभावित परिवार अहिले अस्थायी वासमा बस्न बाध्य छन्। स्थानीय बासिन्दाले घटनाबाट पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।







