महेश सिंह लहान सिरहा –आसन्न रामनगर–मिर्चैया उद्योग वाणिज्य संघ, नेपालको निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार राज कुमार साह अत्यन्त बलियो प्रतिस्पर्धीका रूपमा उदाएका छन्। व्यवसायिक क्षेत्र, सामाजिक सेवा र संघगत अनुभवका कारण साहलाई अधिकांश व्यापारीहरूले ‘असल नेतृत्वकर्ता’का रूपमा मूल्यांकन गरिरहेका छन्।
चुनाव झनै समीप आइरहेको बेला साह गाउँ–गाउँ र ग्रामीण बस्तीसम्म मत–अपिलसहित अभियानमा जुटेका छन्। स्थानीय व्यापारी, उद्यमी तथा व्यवसायिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्दै उनले व्यापारीका हक–हितका लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता दोहोर्याएका छन्।
साहले आफू व्यवस्थापन–अनुभवी, पारदर्शी र व्यवसायीमैत्री नीति लागु गर्न सक्षम उमेदवार रहेको बताउँदै संघलाई आधुनिक, सक्रिय र समस्या–समाधानमुखी संस्थामा रुपान्तरण गर्ने दाबी गरेका छन्।
उनका अनुसार— “व्यापारीको असल नेतृत्व तब सम्भव हुन्छ जब संघ स्वतः सक्रिय, पारदर्शी र सदस्य–केन्द्रित हुन्छ। म यही उद्देश्यका लागि अघि बढेको छु।”
साहको चुनावी प्रतिवद्धतामा कोसेली घर तथा प्रदर्शनी केन्द्र स्थापना, औद्योगिक ग्राम निर्माण, डिजिटल–मैत्री संघ निर्माण, मन्दी हटाउन बजार सञ्चालनमा समन्वय, सदस्य बीमा सुविधा, राहत कोष, पार्किङ व्यवस्थापन, सूचना केन्द्र स्थापना, विधान संशोधन, तथा राजस्वसम्बन्धी समस्यामा सहजीकरण जस्ता प्रस्तावित कार्यक्रम समेटिएका छन्। उनलाई अत्यधिक मतले विजयी गराउन व्यापारी समुदाय उत्साहित देखिएको छ, र साह निरन्तर मत–अपिल तथा जनसम्पर्क अभियानमा सक्रिय छन्।







